राज सापकोटा / हटौँडा

कल्पना स्याङ्बो विद्यालयबाट आउने बित्तिकै आफ्नो गृहकार्य सक्छिन, र दौडेर माछा पोखरी पुगिहाल्छिन् । अचेल उनलाई पोखरीको माछा र बुंगुरको साह्रै चासो लाग्ने गरेको छ । फुर्सदको समय घरमा खेलेर बिताउने उनलाई एक वर्ष अघिसम्म कापी कलम किन्न समेत धौ धौ थियो । हो उनको घरको गर्जो टार्ने समस्या समाधान गर्न शुरु गरेको माछा र बुंगुर पालनको चासो यसैकारणले बढेको हो । जिल्लाको पूर्व पश्चिम राजमार्गको छेवैमा हेटौँडा २९ नेवारपानीकी कल्पनाको दैनिकी परिवर्तन भएसँगै उनको परिवारको आर्थिक अवस्थामा समेत सुधार आएको छ ।

स्थानीय अरनिको माविमा कक्षा ७ मा अध्ययनरत ं१४ वर्षीय कल्पनाले स्थानीय किशोरी सम्वाद केन्द्रमार्फत तालिम लिएर परिवारको सहयोगमा माछा र बंगुरपालन गरेकी हुन् । ‘तालिम लिएपछि मैले आमा बुवालाई यसबारे जानकारी गराएँ’, उनले भनिन्, ‘मेरो कुरा मानेर उहाँहरु काम गर्न सहमत हुनुभयो, अहिले मलाई पढ्न कुनै समस्या छैन ।

मकवानपुर पनि चेलीबेटी बेचबिखनको उच्च जोखीममा रहेको जिल्ला मध्येको एक हो । जसलाई मध्य नजर राख्दै आर.आर.एन नामक एक गैरसरकारी संस्थाले मकवानपुरका ग्रामिण भेगहरुमा किशोरी सचेतना अभियान तिन बर्ष अघि बाट सञ्चलान गरिहेको छ । गाउँ गाउँमा सम्बाद केन्द्र मार्फत किशोरीहरुलाई स्वरोजगार मुलक तालिम दिदै आएका छन । ‘खेतीपातीले खान नपुगेर ज्याला मजदुरी गर्नुपर्ने बाध्यता थियो’ सम्बाद केन्द्रमा आएपछि कल्पनाको परिवारले पाँच कठ्ठा पोखरीमा रहु र नैनी जातको माछा र बंगुर पालपछि घर खर्च सबै धानिरहेको छ, कल्पनाकी आमा सानुमायाले भनिन्, ‘अहिले घर खर्च चलाएर केही पैसा बचत समेत गर्न थालेको मा खुशी भएको सुनाउँछिन । माछा र बंगुर बेचेर एक वर्षमा डेढ लाख रुपैयाँ बचत गर्न सफल भएको उनले बताईन् ।

कल्पनासँगै हेटौँडा २९ की सुजिता अर्याल र सुष्मा अर्यालले परिवारको सहयोगमा तरकारी खेती गरिरहेका छन् । तरकारी खेतीबाट वर्षभरी नै आम्दानी लिन सफल भएपछि अरनीको माविमा कक्षा दशमा अध्ययनरत सुष्मा र कक्षा सातमा अध्ययरनत सुजिनासँगै उनीहरुका आमा बुवा पनि खुशीले दंग छन् । ‘छ कठ्ठा बारीमा मकै धान लाउँदा खान मात्र पुग्थ्यो’, सुजिना र सुष्माकी आमा शारदाले भनिन्, ‘छोरीहरुको कुरा मानेर तरकारी खेती गर्न थालेपछि दुःखका दिनहरु हट्टै गएको छ ।’ उनीहरुले वर्षान्तयता काँक्रो बेचेर २० हजार रुपैयाँ बचत नै गरिसकेकोमा खुशीको सुस्केरामा बताइरहिन । ‘आमा बुवासँगै हामीपनि सघाई पराई गर्ने गर्छौ, स्वास्थ्य तथा पशुपालनका नयाँ नयाँ विषयमा घरायसी सल्लाह समेत गछौं’, सुष्माले भनिन् ।

किशोरी सम्बाद केन्द्रका सबै किशोरीहरुले तरकारी खेती र पशुपालन गर्न थालेको देखेपछि सोनी चेपाङले पनि काँक्रो खेती गर्न थालिन्, ‘मैले तीन कठ्ठा जमिनमा काँक्रो रोपेकी छु र त घर व्यवहार चलाउने पैसाको लागि कसैको मुख ताक्न नपर्ने भएको छ’, चेपाङले थपिन्, ‘बुवा आमाले ज्याला मजदुरी गरेर नल्याएसम्म पैसा देख्न पाईदैनथ्यो’, कपालको चुल्ठो अगाडी स्याहार्दै सम्वाद केन्दको खुलेर तारीफ गरिन, ‘यो वर्ष धान खेती छाडेर नगदे बालीको खेती गर्दा पैसा देख्ने मात्र होईन, बचत पनि हुन थालेकोमा चेपाङ परिवार खुशी छ ।’ हास्दै सोनी बताउँछिन ।

यसरी केन्द्रले ग्रामिण भेगका किशोरीहरु मार्फत् शिक्षा स्वास्थ्यमात्र नभई स्वरोजगार तर्फपनि कार्य गर्न सकेकोमा गौरव महशुस भएको संस्थाका संवाद परियोजना अधिकृत भिम कुमार राईको प्रतिक्रिया रहेको छ । केन्द्रको कारणले गर्दा गाउँमा हरेक प्रकारका सेवा सुविधा पुगेको आभाष सहित विद्यालय छोड्ने, कुलतमा हिड्ने, महिला बेचबिखन तथा बैदेशिक रोजगारीको बारेमा समेत सचेतना फैलाउदै हिड्ने संवाद केन्द्र र यसका सरोकारवालाहरु गाउँको स्वरुप नै परिवर्तन हुन थालेको बताउँछन ।

केन्द्रमा आवद्ध भएका बिसजना किशोरीहरुले घर नजिक खाली रहेको जमिनमा करेसा बारी निर्माण गरेका छन् तथा आठ जनाले परिवारको सहयोगमा व्यवसायिक तरकारी खेती र पशुपालन गरिरहेका संवाद केन्द्रकी उमा रायमाझीले बताईन् ।

सम्वाद केन्द्रले किशोरीहरुलाई स्वरोजगार तालिमसँगै किशोरीहरुको प्रजनन् स्वास्थ्य, महिला अधिकार, वैदेशिक रोजागार, आय आर्जन, घरेलु हिंसा लगायत विषयहरुमा समेत बहस र छलफल गर्ने गरेको कार्यक्रम प्रमुख राईले जानकारी दिनुभयो ।

Source: http://khabarbreak.com (2 October 2016)