विनोद सापकोटा झापा, भदौ ३

झापाको दक्षिणी गाविस टाघनडुब्बाको नमूना प्राथमिक विद्यालय जिल्लाकै यस्तो नमूना स्कुल हो, जुन पूर्ण रुपमा महिलाद्वारा सञ्चालित छ। यहाँ शिक्षिका मात्र होइन, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघको नेतृत्वमा समेत महिला नै छन्।

महिला नेतृत्व स्वीकार गर्न नसक्नेहरूका लागि गतिलो उदाहरण बनेको छ यो स्कुल। सामुदायिक विद्यालयमा नेतृत्व चयन गर्दा हुने घम्साघम्सी, मारपिट, पानी बाराबारको छाया यो विद्यालयमा अहिलेसम्म नपरेको अभिभावक बताउँछन्। ‘आलोपालो नेतृत्व गर्ने प्रणाली पनि विद्यालयमा छैन, सक्षमलाई सबै अभिभावकले रुचाउँछन्,’ विद्यालयमा दिउँसो आफ्ना नानी भेट्न आएका वैजनाथ किस्कुले भने, ‘८० प्रतिशत चिया मजदुरका छोराछोरी अध्ययन गर्ने हाम्रो विद्यालयमा राजनीतिक नियुक्ति अहिलेसम्म भएको छैन।’

टाघनडुब्बा-८ मा २०५४ सालमा स्थापन भएको यो स्कुल गाईगोठबाट सुरु भएको हो। स्थानीयका अनुसार विद्यालय भवनको अभावमा स्थानीय बालुराम खरेलको गुवालीबाट पठनपाठन सुरू भएको थियो। गाउँमा शिक्षाको ज्योति छर्नुपर्छ भन्ने उद्देश्यका साथ खरेलले चौपायालाई पाखा लगाएर आफ्नो ग्वालीमा विद्यार्थी राखेका थिए।

रातभरि चौपाया बाँध्ने, दिउँसो गोबर सोरेर सफा पारेपछि गुन्द्री ओछ्याएर पढाइ हुन्थ्यो। स्थानीयले खरेललको खुलेरै प्रशंसा गर्दै भने, ‘बालुराम बाले गाउँको शैक्षिक क्षेत्र फराकिलो बनाउनुभयो।’

खरेलले विद्यालयमा शौचालयसमेत बनाइदिए। अहिले पनि गाउँका अभिभावक विद्यालय परिसरमा आउँदा बर–पीपलका रुख देखेर बालुरामलाई सम्झन्छन्।

एक वर्षजति विद्यालयका छात्रछात्रा खरेलको ग्वालीमा पढ्न गए। त्यसपछि विद्यालय भवनका लागि दाता निस्किए। सुरज सोरेनले करिब १२ कठ्ठा जग्गा विद्यालयलाई दान गरे। सीमान्तकृत समुदायका यी दानवीरको खुला मन देखेर अन्य छिमेकीले पनि मन खुकुलो पार्दै विद्यालयलाई जग्गा दान गर्न हौसिए। स्थानीय टसबहादुर थापा, खड्गबहादुर रसाइली र अम्मरबहादुर धमला लगायतले १५ कठ्ठा जग्गा विद्यालयलाई दान गरे।

विद्यालयललाई वैधानिक तवरबाट जग्गा दान त भयो तर विद्यालय व्यवस्थापन समितिलाई भवन बनाउने चटारो उत्तिकै थियो। भवन दाता पनि विस्तारै निस्किए। जिल्ला शिक्षा कार्यालय झापा, स्थानीय कुवाडीदेवी टि स्टेट, सांसद विकास कोष र टाघनडुब्बा गाविसले भवन निर्माण गरिदिने बचन दिएपछि तीनकोठे पक्की भवन निर्माण भयो। आदिवासी समुदायको बाहुल्य रहेको यो गाउँमा विद्यालय स्थापनाताकै ६५ विद्यार्थी अध्ययनरत थिए।

ग्रामीण पुनर्निर्माण संस्था नेपाल (आरआरएन) ले विद्यालयमा विद्यार्थीको चाप बढेको बुझेपछि अर्को एउटा भवन निर्माण सम्पन्न गरेर विद्यालय व्यवस्थापन समितिलाई जिम्मा लगायो।

यो विद्यालयलाई ०५८ मा कक्षा १ को अनुमति जिल्ला शिक्षा कार्यालय झापाले दिएको थियो। विद्यालयकी प्रधानाध्यापिका कमला विकका अनुसार त्यसपछि वर्षेनी जिल्ला शिक्षा कार्यालय झापाले कक्षाको स्तोरन्ततिको स्वीकृत दिँदै आएको छ। अहिले यो विद्यालयमा कक्षा पाँचसम्म पढाइ हुने गरेको छ। विद्यालयको तथ्यांकअनुसार ८४ जना विद्यार्थी सीमान्तकृत छन्। प्रअ विकका अनुसार ४९ जना आदिवासी, जनजाति र ६६ जना अन्य समुदायका विद्यार्थी अध्ययनरत छन्।

विद्यालयमा केदारकुमार विक (राहत), यशोदा गणेश (राहत), भूमा खत्री (सका), शर्मिला विक सहयोगी कर्मचारी, कार्यरत छन्। उनीहरूका अनुसार विद्यालय सञ्चालन गर्न कुनै कठिनाइ छैन। विद्यालयको आन्तरिक स्रोतबाहेक अन्य स्रोत नहुँदा केही आर्थिक समस्या झेल्नुपरेको र विद्यार्थीका लागि नयाँ कार्यक्रम ल्याउन नसकिएको प्रअ कमला विक बताउँछिन् । उनले भनिन्, ‘अति विपन्न वर्गका अभिभावकका छोराछोरी अध्ययन गर्ने यो विद्यालयमा एउटा दरबन्दी रिक्त छ।’

जिल्ला शिक्षा कार्यालय झापाबाट शीर्षकगत बजेट आउँछ। त्यो बजेट तोकेकै शीर्षकमा खर्च गर्नुपर्ने प्रावधान छ। विद्यार्थी आकर्षित गर्न विद्यालयले बजेट अभावकै कारण कुनै कार्यक्रम ल्याउन सकेको छैन। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष हिमा पराजुली भन्छिन्, ‘कक्षा १ देखि ५ सम्मकै विद्यार्थीका अभिभावक हुँदाखाने सीमान्त वर्गका छन्।’

Source: http://setopati.com (शुक्रबार, भाद्र ३, २