विनोद सापकोटा
झापा, पूस २०  
 
चिसोले कठ्याँग्रीएका झापा र बाँकेका स्थानीयलाई नेपाल ग्रामिण पुनर्निर्माण संस्था आरआरएनले न्यानो कपडा प्रदान गरेको छ। झापाको कमल गाउँपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का पीडित परिवारलाई सो संस्थाले बिहीबार जाडोको न्यानो कपडा वितरण गरेको हो।
झापाको कमल गाउँपालिकाका सात वटै वडाका २ सय ५५ घरका मुलिलाई प्रतिपरिवार २ थान कम्वल र १ थान मजेत्रो वितरण गरेको हो। यस्तै वाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का २५५ परिवारलाई पनि सामाग्री वितरण गरेको थियो ।
 
विदेशी गैह्रसरकारी संस्था मुस्लिम एड नामक संस्थाले राहत सामाग्रि उपलव्ध गराएको आरआरएन नेपालका पूर्वाञ्चल संयोजक दुर्योधन अधिकारीले वताए। झापा र बाँकेका ४१० घरलाई १३ लाख ६० हजार मूल्य वराबरको जाडोमा न्यानो कम्वल र मजेत्रो वितरण गरिएको थियो।
 
कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले गएको असार २८ मा आएको बाढीले घरका लत्ता कपडा बगाएर विजोग भएका परिवारलाई सो सामाग्री हस्तान्तरण गरिएको बताईन्। उनले, अति विपन्न परिवारलाई पनि कमल गाउँपालिकाले जाडोमा न्यानो कपडा वितरण गरिएको बताईन्।
नेपाल ग्रामिण पुनर्निर्माण संस्था आरआरएनले सहजीकरण गरेको राहत सामाग्री अति विपन्न वर्गका सतार, मुसहर, झाँगड लगायतका परिवारलाई वितरण गरिएको थियो।
 
राहत थापेर दंग भएका कमल गाउँपालिकाका विश्वराज विकले बिहान बेलुका काम गरेको पैसाले साग सव्जी र चामल किनेर परिवारको गुजरा चलाउने गरेको बताए पनि साँझ परेपछिको चिसो छल्ने न्यानो कपडा नभएर बालबच्चाको विजोग भएको वताए। उनले, अब चिसोको सहारा आरआरएनको न्यानो कपडा भएको बताए।