जलेश्वर, २९ असार । नेपाल ग्रामीण पूर्ननिर्माण संस्था (आरआरएन)ले महोत्तरी जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकामा विपद्बाट बचाउन सामग्रीहरु वितरण गरेको छ ।

सो संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सिडीपी) अन्तर्गत महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकासहित मटिहानी नगरपालिकालाई विपद्को समयमा आवश्यक पर्ने सामग्रीहरु वितरण गरिएको संस्थाका संयोजक विशाल तिमिल्सेनाले जानकारी दिए ।

संस्थाले जिल्ला विपद् व्यवस्थापन समितिलाई विपद्को बेला उद्धारको लागि ६ जनासम्म अटने रबरको डुङ्गा समेत प्रदान गरेका छन् ।

जलेश्वरको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरको अगाडीमा रहेको पुरन्दर सर पोखरीमा आयोजित एक कार्यक्रममा संस्थाका संयोजक तिमिल्सेनाले प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई सो रवरको डुङ्गा हस्तान्तरण गरेका हुन् । 

डुङ्गा पाएपछि प्रमुख जिल्ला अधिकारी ढकालले यो रबरको डुङ्गाले बाढीको समयमा उद्धार गर्न सहज हुने बताउनुहुदै संस्थालाई सहयोगको लागि धन्यवाद दिए । 

सोही अवसरमा जिल्ला विपद् व्यवस्थापन समितिले आयोजना गरेको बाढी जस्ता विपद् आउँदा कसरी न्यूनतम सुरक्षा उपाय गर्ने भन्ने विषयमा जनचेतनामूलक सन्देश सहित रेडक्रस, सुरक्षा निकायहरुले कृतिम घटना अभ्यास देखाएको थियो ।

ज्ञातव्य छ, महोत्तरी जिल्लामा हरेक बर्ष रातो, बिग्ही, अंकुसी, माढा, गेरुकीलगायतका नदिहरुले बाढी ल्याउने गरेका छन् । अहिले पनि महोत्तरी जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाका तिनदर्जनभन्दा वडाहरु बाढीको जोखिममा रहेका छन् । त्यसैगरी महोत्तरी आगलागी, शितलहर, लुलगायतका विपद्बाट समेत प्रभावित हुँदै आएका छन् ।

त्यसैगरी संस्थाले मटिहानी र जलेश्वरनगरपालिकाको तिनस्थानमा विपद्बाट स्थानीयलाई जोगाउनको लागि लाईफ ज्याकेट, उद्धार कार्यमा प्रयोग हुने डोरी, आगलागीमा प्रयोग हुने पोशाक, माईक, सिँढी, स्ट्रेचर, हेल्मेट, रेनकोट, त्रिपाल, कोदाली, फरुवासहितका सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।

विगतमा डुङ्गालगायत उद्धार सामग्रीको अभावमा विपद आउँदा राहत कार्यमा कठिनाई हुनुका साथसाथै पिडितक्षेत्रमा राहत सामग्री लान समस्या हुने गरेको थियो । तर अहिले यसमा केही मात्रामा भएपनि सहजता आउने सरोकारबालाहरुले आशा लिएको जनाइएको छ ।

Source: http://madheshvani.com (14 July 2018)