निरमाया चेपाङ भन्छिन्–अब त धित मर्नेगरी पानी पिउने हो

निरमाया चेपाङ भन्छिन्–अब त धित मर्नेगरी पानी पिउने हो

चितवनको इच्छाकामना गाउँपालिकाको चेपाङ गाउँ थाप्राङमा पिउने पानीको पाइप पुगेको २ दशकअघि हो। तर मुहानमा जोडेर गाउँमा पुर्‍याइएको पाइपबाट पानी भने केही दिनमात्रै झर्‍यो। पछि पनि विभिन्न गैरसरकारी संस्थाले स्थानीयलाई पिउने पानीको पहुँचमा पुर्‍याउन प्रयास गरे, तर गाउँलेले कहिल्यै पनि धित मर्ने गरी पानी पिउन पाएनन्। एक घन्टा परको खोलाबाट बोकेर ल्याएको पानीले आँत भिजाउनु पर्ने बाध्यता थाप्राङवासीको थियो। मान्छेलाई पिउने पानीसम्म नभएको काकाकुल गाउँमा त्यति परबाट बोकेर ल्याएको पानी सरसफाइ, गाईवस्तु हुर्काउने, कृषिलगायतमा प्रयोग गर्ने कुरा त सपनाबाहेक केही थिएन। यही गाउँमा जन्मिएका ७२ वर्षीय पपसिंह चेपाङ आँगनमै जोडिएको धारोबाट पानी झरेको देख्दा दंग छन्। वृद्ध भत्ता बुझ्न थालिसकेका पपसिंह ढिलै भए पनि थाप्लोमा नाम्लो लगाएर खोलाको पानी डोकोमा बोकेर उकालो चढ्नु पर्ने बाध्यता हटेकोमा खुसी छन्।

एक महिना अघिमात्रै पृथ्वी राजमार्गबाट यो गाउँसम्म सडक सञ्जाल जोडिएको छ। आफ्नै गाउँपालिकाको कार्यालय पुग्न  घन्टौं हिँडेर सडकको पहुँचमा पुग्नु पर्ने बाध्यतामा थिए। अब डेढ घन्टामा गाडी चढेर गाउँपालिका कार्यालय पुग्न सक्ने भएका छन्। सडक र पिउने पानीको पहुँच एकैचोटी पुग्दा गाउँलेको खुसीको सीमा छैन। गाउँपालिका र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था भिभा कोन अग्वा(भिसिए)/वेल्ट हंगर हिल्फे(डब्लुएचएच)को 

आर्थिक सहयोगमा नेपाल ग्रामीण पुननिर्माण संस्था(आरएनएन)ले खानेपानी आयोजना सञ्चालन गरी यस गाउँका ७० परिवारलाई पिउने पानीको पहुँचमा पुर्‍याएका हुन्।

‘यस गाउँमा पिउने पानीको अभाव छ भन्ने जानकारी भएपछि स्थलगत अवलोकनपश्चात हामीले  आयोजना सञ्चालन गर्ने निधो गरेका थियौं,’ नेपाल ग्रामीण पुननिर्माण संस्थाका प्रोजेक्ट म्यानेजर निराजन पोखरेलले भने, ‘गाउँपालिकासँगको समन्वयमा ४५ दिन भित्रमा ७१ वटा धारा जडान गरी सबैलाई पिउने पानीको पहुँचमा पुर्‍याइएको छ।’

उनका अनुसार यस योजनाका लागि भिसिए, डब्लुएचएच र आरआरएनले २० लाख १५ हजार ७९१ रुपैयाँ खर्च गरेका छन्। गाउँपालिकाले ६ लाख ८३ हजार ८३६ र स्थानीयले श्रमदानबाट ४ लाख ४५ हजार ६३४ रुपैयाँ बराबरको सहयोग गरेका छन्। करिब डेढ किलोमिटर पर रहेको मुहानबाट १२ हजार लिटरका दुइटा ट्यांकीमा पानी संकलन गरी थाप्राङका घर-घरमा बनेका धारामा पानी पुर्‍याएको संस्थाका लेखापाल धर्मराज उपाध्यायले बताए। धारा जडानका लागि घरमूलीले चर्पी बनाउनै पर्ने नियम लगाइदिएपछि अहिले थाप्राङका सबै घरमा चर्पी पनि बनेका छन्। पहिले यहाँका एक तिहाइ घरमा पनि चर्पी थिएनन्।

२९ वर्षीया निरमाया चेपाङका ५ वटा छोराछोरी छन्। पेटभर पानी खुवाउन हम्मे पर्ने अवस्थामा निरमायाले चाहेर पनि बच्चाहरूलाई नुहाएर चिटिक्क बनाउन, धोएका सफा कपडा लगाइदिन सकेकी थिइनन्। आँगनमै पानी आउन थालेपछि भने उनको खुसीको सीमा छैन।

‘अब त धित मर्नेगरी पानी पिउने हो,’ उनी भन्छिन्, ‘बच्चाहरूलाई सफा बनाएर स्कुल पठाउन पाइने भयो।’ उनले पानी बोक्न पर जान नपरेपछि त्यो समय खेतीमा लगाउन पाइने बताइन्।  ४३ वर्षीय भद्रबहादुर प्रजा यही गाउँबाट वडा सदस्यमा निर्वाचित हुँदै गाउँपालिकाको कार्यपालिका सदस्य बने। गाउँलेले उनलाई खानेपानी, सडकलगायतका पूर्वाधार निर्माणको सर्तमा जिताएका थिए। ‘यो अवधिमा गाउँमा यी दुवै पूर्वाधार तयार भएका छ,’ उनले सुनाए, ‘अब शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारमा ध्यान दिनुछ।’ कार्यपालिका सदस्य भएका उनलाई कालिका नगरपालिकाको सिद्धी, शक्तिखोर, भरतपुर महानगरपालिका हुँदै ४ घन्टा लगाएर गाउँपालिका पुग्नुपथ्यो। ‘अहिले आँगनमै आउने पानीले खाना पकाई खाएर डेढ घन्टामा कार्यालय पुग्छु। गाउँमा धेरै परिवर्तन भइरहेको छ,’ उनले सुनाए। 

पानीको पहुँचपछि पिउनका अलावा स्थानीयले कृषि र पशुपालनमा पनि प्रयोग गर्न पाएको उनले बताए। ‘बुढेसकाल र धारो सँगसँगै आइपुग्यो,’ ६१ वर्षीय ठूले चेपाङले भने, ‘बाबुको पालादेखि दुःख व्यहोर्दै आए पनि छोरा, नातिहरूले सुविधा पाउने भए।’ उनी बाँस, निगालोको डोको बुनेर बिक्रीका लागि बोकेर बजार पुग्थे। ‘पानीसँगै बाटो पनि आयो, अचेल डोको किन्न साहु घरसम्मै आइपुग्छन्,’ ठूले चेपाङ भन्छन्, ‘यति विकट ठाउँमा आँगनमै पानी, घरै अगाडिबाट गाडी आउने कसले सोचेको थियो र!’ ४० वर्षीय भीमबहादुर चेपाङले गाउँमा पानी आउने भएपछि गिटी, ढुंगा बोकेर श्रमदान गरे। ‘१०० वटा सुन्तलाका बिरुवा हुर्कँदै थिए, घरमै पानी आएपछि अब बारीमा पनि प्रयोग गर्न पाइने भयो,’ उनले भने, ‘पानी नहुँदा बाली राम्रो हुन्थेन अब आशा बढेर गएको छ।’ उनले भूकम्पले भत्काएको घर पुनर्निर्माण प्राधिकरणको बजेटबाट बनाइरहेका छन्।

‘घरसँगै शौचालय पनि बन्दैछ। गाउँमै गाडी आउन थालेपछि अब उत्पादन बेचेर परिवार पाल्न सजिलो हुने भयो,’ उनले सुनाए। स्थानीय युवा सुनबहादुर चेपाङकाअनुसार सरसफाइको अभावमा धेरै बालबालिका बिरामी पर्ने र अस्पताल लैजान पनि असहज हुने गर्दथ्यो। पानी र बाटोले यो अवस्थामा सुधार आएको छ। उनी अचेल गाउँलेलाई सरसफाइ र शिक्षामा सचेतना फैलाउन लागि परेका छन्। नजिकै विद्यालय नहुँदा कक्षा ३ पढेर छाडेका उनी अहिले बच्चाहरूलाई पढ्न प्रेरित गर्छन् अनि अभिभावकलाई शौचालयको प्रयोग गर्न, घर र समाजको सरसफाइ गर्न सिकाउँछन्।

‘पिउने पानी र शौचालयको अभावका कारण यहाँ सरसफाइको अवस्था कमजोर थियो,’ डब्लुएचएचका प्रोजेक्ट कोअर्डिनेटर आनन्द गौतम भन्छन्, ‘हामीले स्थानीय तहसँग मिलेर उनीहरुलाई सरसफाइमा अभिप्रेरित गरेका हौं।’

चितवनका विभिन्न स्थानीय तहमा १३०० घरलाई पिउने पानीको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ संस्थाले काम गरिरहेको उनले बताए। उनले चितवनमा यस वर्ष ३१ वटा नयाँ धारो र मर्मतको कार्यक्रम सञ्चालन भइरहेको बताए। इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ गाउँ–गाउँमा विकास पुर्‍याएर जनतालाई जिविकोपार्जन र सरसफाइमा प्रेरित गरिरहेको बताउँछन्। गाउँपालिकाका अधिकांश क्षेत्रमा सडकको पहुँच पुगेको भन्दै उनले बिजुली, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधार पनि सबैतिर पुग्दै गरेको बताइन्। ‘स्थानीयको पहिलो आवश्यकता पिउने पानी ढिलै भए पनि आइपुग्यो, सडकको सुविधा पनि थपिएको छ,’ उनले भनिन्, ‘अब आफ्नो सीप र मेहनत खर्च गरेर आत्मनिर्भर बन्ने आधार तयार भएको छ।’

About RRN

Rural Reconstruction Nepal (RRN) is a Nepali non-government, not for profit, social development organisation, initially set up as a small organisation in 1989

Contact Us

  • 288 Gairidhara Marg, Kathmandu, Nepal
  • +977 1 4004976, 4004985
  • rrn@rrn.org.np