४ वर्षदेखि चिकित्सक छैनन, रारमा आएका बस्नै मान्दैनन्

लक्ष्मी साह

बारा — सिम्रौनगढ नगरपालिका(८ कचोर्वाकी रीतादेवी यादवलाई प्रशव वेदनाले च्यापेपछि हतार(हतार एम्बुलेन्समा २५ किमि टाढाबाट कलैया अस्पताल पुर्‍याइयो । अस्पतालमा प्रसूतिसम्बन्धी चिकित्सक थिएनन् ।

व्याथाले छट्पाटाएकी रीतालाई प्रसूति हुन केही घण्टा लाग्न सक्ने भन्दै समान्य सोधपुछ गरेर अनमिहरूले फर्काइदिए । व्यथा बढ्दै गएपछि चिन्तित बनेका रीताका पतिले अस्पतालकै अगाडिको निजी क्लिनिकमा देखाए । भिडियो एक्सरेसहित अनेक जाँच गर्न उनले ३ हजार खर्चिनु पर्‍यो ।

अस्पतालभित्रका ती सेवा उनले पाउन सकेनन् । बाहिरै जाँचको आधारमा अस्पतालका अनमिहरूले प्रसूति गराए । ‘नाम मात्रको अस्पताल हो, काम र सेवा छैन,’ आइतबार प्रसूति गराएर घर फर्केका रीताका पति प्रदीपप्रसाद यादवले भने, ‘अस्पतालभित्र चिकित्सक र जाँच गर्ने प्राविधिक भएको भए मेरा पैसा र समय त्यति खर्च हुँदैन्थ्यो ।’ क्लिनिक अस्पतालकै चिकित्सकको हो ।

रीता उदाहरण मात्र हुन् । उनीजस्ता थुप्रैले यो समस्या दिनहुँ झेल्नु परिरहेको छ । ५० शय्याको कलैया अस्पतालमा लामो समयदेखि प्रसूति चिकित्सक छैनन् । मन्त्रालयबाट करारमा कोही आए पनि अस्पतालभित्रको राजनीति चलखेलले उनीहरू छिट्टै फर्किने गरेको स्रातेले जनायो । ‘राजनीति र अस्वस्थ्य व्यावसायिक प्रतिस्पर्धाले चिकित्सक टिक्नै सक्दैनन्,’ स्रोतले भन्यो ।

चिकित्सक नभएर शल्यक्रियाबाट गराउनुपर्ने प्रसूति लामो समयदेखि गराउन नसकिएको अस्पताले स्रोलले बतायो । चार वर्षअघि प्रसूति विशेषज्ञ डा. सुरेन्द्र चौधरीको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सरुवा भएदेखि कलैया अस्पतालमा यस्तो समस्या भएको हो । उनी गएदेखि कतिजना विशेषज्ञ करारमा आए पनि टिक्न सकेका छैनन् । डा. चौधरी गएदेखि मन्त्रालयले दरबन्दीमा अर्का चिकित्सक पठाएको छैन ।

प्रसूति फाँटका अनुसार औषतमा दैनिक १० जना आउने गरेका छन् । ‘सम्भव भए जति ‘केस’ अनमीहरूले नै हेर्ने गरेका छन् । ‘केही भयो कि तत्कालै ‘रिफर’ गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अस्पतालमा चिकित्सक नहुने ‘रोग’ पुरानो छ । कसैले सुधारका लागि पहल गर्दैन ।’ अस्पतालकी मेडिकल सुपरिटेन्डेड अनुपमा यादवले चिकित्सकको अभावमा सुत्केरी हुन आएने महिलालाई समस्या हुने गरेको स्विकारिन् । ‘सुत्केरीसम्बन्धी विशेषज्ञ नभएपछि समस्या स्वाभाविक हो,’ उनले भनिन्, ‘सरकारले समस्याबारे चासो राख्दैनन् ।’

थपिँदै प्रसूति भवन
ग्रामीण क्षेत्रमा प्रसूति भवन अभाव भएपछि दातृ निकाय बेलायत सरकारको सहयोगमा ग्रामीण पुनर्निर्माण संस्थाअन्तर्गत सामुदायिक विकास कार्यक्रम (सीडिपी) ले सिम्रौनगढ नगरपालिकाको भगवानपुर, पचरौता नगरपालिकाको कुडवा, श्रीनगर बैरिया, आदर्शकोतवाल गाउँपालिकाको लक्ष्मीपुर कोतवाली र बतरामा सवा करोड खर्चेर ४ वटा स्वास्थ्य चौकी भवनसँगै सुरक्षित प्रसूति गराउन पक्की भवन निर्माण गरेको छ ।

यसैगरी माटोको घरमा सञ्चालन हुँदै आएको बारागढी गाउँपालिकाको खोपवा, करैयामाई गाउँपालिकाको नरही, सिहोर्वालगायतको ठाउँमा बर्थिङ सेन्टरका लागि ८० लाखको लागतमा छुट्टै ४ वटा बर्थिङ सेन्टर सञ्चालन गर्न प्रसूति गृहको निर्माण गरेको छ । डेढ वर्षअघि जिल्लामा १६ स्थानमा बर्थिङ सेन्टर सञ्चालन गर्ने अनुमति दिइएकोमा नरही स्वास्थ्य चौकीको बर्थिङ सेन्टर यस्तो थियो, जहाँ सर्पको बिगबिगी र महिलाको ‘प्राइभेसी’ समस्याले प्रसूति गराउन आउन महिला रुचाउँदैनथे । तर संस्थाले गरेको बर्थिङ सेन्टर निर्माणले प्रसुतिको चाप बढेको छ ।

Source: https://www.kantipurdaily.com (2018/08/14) श्रावण २९, २०७५