राजन रावत

सिमकोट भदौ, १६ । विगत तीन वर्षदेखि भौतिक पुर्वाधार, सीप विकास र आयआर्जनका क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास कार्यक्रमले गरेका कृयाकलाप समेटिएको प्रतिवेदन गाउँपालिकालार्इ हस्तान्तरण गरेको छ ।
जिल्लाका पाँच वटा गाउँपालिकामा संचालन गरिएका कार्यक्रमले सबैमा कामको अपनत्व गाउँपालिकाले लिन सकाेस् भन्दै प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

आगामी सेप्टेम्बर महिनाबाट सामुदायिक विकास कार्यक्रम हुम्ला जिल्लाबाटै बाहिरिने भएकोले कार्यक्रमद्वारा संचालन भएका गतिविधिहरुको जानकारी, दिगोपनका लागि सहयोग र संरक्षणमा गाउँपालिकाले अपनत्व लिने खालकाे सहज वातावरण बनाउन प्रतिवेदन हस्तान्तरण गरिएको कार्यक्रमका जिल्ला संयोजक राजबहादुर रोकायाले बताए ।

कतिपय कृयाकलाप अल्पकालीन भए पनि कति कार्यक्रम दीर्घकालीन रुपमा संचालन भइरहने हुँदा पालिकालाई प्रगति प्रतिवेदन हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

बितेका तीन वर्षमा कार्यक्रमले जनचेतनामूलक, जीवकोपार्जन, सीप विकास तथा व्यवसायिक तालिम र पुर्वाधार विकासका कार्यक्रम संचालन गरेको थियो ।

ती कार्यक्रम संचालन गर्न सिडिपीले तीन वर्षमा ९ करोड ७९ लाख ४१ हजार १ सय ९२ रुपैयाँ खर्च भएको जनाएको छ । प्रतिवेदन बुझ्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको र त्यसका लागि सिडिपी जस्ता अन्य कार्यक्रम जिल्लामा आवश्यक रहेको बताए ।

विगत ३ वर्षकाे कार्यक्रमकाे समीक्षासहित पालिकालाई हस्तान्तरण भएका कार्यक्रमको संरक्षण गरिने पालिकालाई गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

Source: https://www.nayapaila.com (2018/09/01)