भाद्र २५, २०७५ शाहीमान राई

जनकपुर — घरधन्दा, चुलाचौका र खेतीपाती गर्दै दिनचर्या विताउँदै आएका तराई मधेसका महिला अचेल परम्परादेखि चलिएको अन्धविश्वास, कुरीति र कुसंस्कारविरुद्ध एकजुट हुन थालेका छन् ।

उनीहरू दाइजो प्रथा, बालविवाह, बहुविवाह, बोक्सी, घरेलु हिंसा, महिला हिंसा, बलात्कार, छुवाछूत, लैङगिक विभेद, शिक्षा, स्वास्थ्य, सरसफाइ लगायत सामाजिक विकृति र विसंगतिविरुद्ध सामूहिक रूपमा छलफलमा जुटेका हुन् । गरिब, दलित, विपन्न, असहाय परिवारका महिला व्यवसाय, आयआर्जनका लागि समेत सामूहिक छलफल गर्छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १७, मानसिंपट्टी तेतरियाकि ४५ वर्षीया रितादेवी यादव छोराको विवाह गर्दा दाइजो (दहेज) नलिने र छोरीलाई कन्यादान गर्दा समेत दाइजो नदिने बताइन् । ‘छोरीलाई दाइजो दिनुभन्दा उच्च शिक्षा पढाउँछु, आफ्नै खुट्टामा उभिने बनाउँछु,’ उनले भनिन्, ‘बुहारी ल्याउँदा होस् या छोरी दिँदा, दाइजो लिदैनौं, दिँदैनौं ।’

एसएलसी उत्तीर्ण जेठी छोरीको विहे १८ वर्षमा गराइदिएकोमा पछुतो मान्दै रितादेवीले कम उमेरमा छोराछोरीको विवाह नगराइदिने प्रतिबद्धता समेत जनाइन् । कक्षा ११ मा पढ्दै गरेकी छोरीको विहे उच्च शिक्षा पूरा गरेपछि मात्र गरिदिने उनको अठोट छ । राज्यले विवाहको उमेर २० वर्ष तोकेकाले सानै उमेरमा छोराछोरीको विवाह गराउन नहुने कुरा उनीहरूले सामूहिक छलफलबाट थाहा पाएको बताइन् ।

दाइजोको कारण छोरी, बुहारीले कुटपिट, घरेलु हिंसा, शारीरिक तथा मानसिक यातना भोग्नुपरेको घटना बारे हरेक साता छलफल गर्छन् । छलफलमा सहभागी हुने समाजमा गरिब, विपन्न, असहाय घरपरिवारका महिला दाइजो, बोक्सी, बालविवाह, बहुविवाह लगायत अनधविश्वास र कुरितीबारे खुलेरै कुरा गर्छन् ।

‘रूढिवादी परम्परा र अन्धविश्वासको कारण प्राय: महिलाले पासविक पीडा भोगिरहेको सम्झेर ल्याउँदा मुटु पोल्ने गरेको छ,’ महिलाहरूले स्थापना गरेको महारानी सचेतना केन्द्रकी सामाजिक कार्यकर्ता हिना यादव भन्छिन् ,‘कुरीति, कुसंस्कारले गरिब दलित विपन्न परिवारलाई जीउनै गाह्रो छ ।’

गरिबी, बेरोजगार, अशिक्षा र सामाजिक विभेदको कारण पिछडिएका वर्ग समुदायको उत्थानका निम्ति बेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक विकास कार्यक्रमले गाउँगाउँमा सचेतना केन्द्र स्थापना गरी महिलालाई समूहमा छलफल गर्ने वातावरण मिलाइदिएको हो ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत धनुषाको मानसिंपट्टी तेतरिया, गोठकोयलपुर, पटेर्वा, लकड, बलाहाकठाला, सिपही मडान, चोराकोयलपुर, हठिपुर हठवरा, गलाहा सधारा, दुवरकोट हठलेटवा, ननुपट्टी, पुसवलपुर, पटहर्वा, मुखियापट्टी मुसहरनिया लगायत दुई गाउँपालिका, जनकपुर उपमहानगरपालिकासहित ६ वटा नगरपालिकाको १९ वटा वडामा २ सय ६० सचेतना केन्द्रमा ७ हजार महिला आवद्ध छन् ।

उनीहरू आ–आफ्नो सचेतना केन्द्रमा हरेक साता सामाजिक, आर्थिक परिवर्तनका लागि समाजमा व्याप्त बेथिति, कुरीति, कुसंस्कारको कारण नारीमाथि अपमान भइरहेको बारे समूहमा छलफल गर्दै आएका छन् । युग परिवर्तन भइसक्दा पनि समाजमा गरिब विपन्न महिला, वृद्धबृद्धालाई बोक्सीको आरोप लगाइने, कुटपिट, यातना, सामाजिक बहिष्कार जस्ता अमानवीय व्यवहारका घटना बारे छलफल गरेको मानसिंपट्टीकी २७ वर्षीय रिना यादवले बताइन् । ‘हामीले बोक्सी के हो ? किन भनिन्छ र कस्तोलाई भनिन्छ ? समूहमै छलफल गर्‍यौं, छलफलबाट बोक्सा बोक्सी (दाइ) त कमजोर महिला र वृद्धबृद्धालाई भनिदोरहेछ, भन्ने निष्कर्ष निकाल्यौं,’ सचेतना केन्द्रकी सदस्य रिना यादवले भनिन्।

महिलाको सक्रियता बढेपछि अधिकांश पुरुषले मादक पदार्थ सेवन गर्न छाडेको केन्द्रकी सहजकर्ता रञ्जीता यादवले बताइन् । ‘विगतमा पुरुषहरू रक्सी पिउने, घरमा आएपछि श्रीमतीसित झगडा गर्ने, कुटपिट गर्ने, पीडा नै पीडा अशान्ति हुन्थ्यो,’ उनले भनिन्, ‘अचेल हामी पनि हकअधिकार बारे सचेत भएका छौं, महिला पुरुष बराबर भन्ने कुरा बुझ्यौं ।’ यहाँका २ सचेतना केन्द्रमा ५० गरिब, दलित महिला संगठित छन् ।

पुरुषलाई मदिरा सेवन तथा कुलतबाट छुटाउने, गाउँघर सरसफाइ, फोहरमैला व्यवस्थापन र छोराछोरीलाई विद्यालय पठाउने अभियानमा लागेका छन् । विगतमा सडक, खोलाखोल्सी, खेतबारी जताततै खुला ठाउँमा दिसापिसाव गर्दै आएका उनीहरूले घरघरमा शौचालय बनाएका छन् । खुला शौचालय, फोहोरका कारण बिरामी हुने भएकाले स्वच्छ र स्वास्थ्य जीवनको लागि नियमित सरसफाइ गर्न थालेको अर्का सदस्य ३५ वर्षीया हीरा महराले बताइन् ।

सचेतना केन्द्रमा ५२ साताको छलफलबाट महिलाले जन्म, विवाह, मृत्यु दर्ता, नागरिकता प्रमाणपत्र, नाता प्रमाणित लगायत कानुनी व्यावस्थाबारे व्यावहारिक ज्ञान प्राप्त गरेका छन् । घुम्ती कोषबाट हरेक महिना ५ जनाले सस्तो व्याजमा ऋण लिन र बचत गर्न पाउछन् । समूहको निर्णयबाट सस्तो व्याज कायम गरी पालैपालो सामूहिक जमानीमा कर्जा लिएर बाख्रापालन, संगुर, गाईभैंसी, व्यापार, तरकारी खेती लगायत आयआर्जनका क्रियाकलाप गर्दै आएको सहयोगी संस्था ग्रामीण पुनर्निर्माण नेपालका धनुषा संयोजक खडभूषण साहले बताए । यसका लागि समूहलाई घुम्ती कोष २ करोड ६० लाख प्रदान गरिएको छ ।

https://www.kantipurdaily.com (प्रकाशित : भाद्र २५, २०७५ ०९:३१)