हदिश खुद्दार
जनकपुरधाम | भदौ २८, २०७५

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कागजमा मात्रै काम गर्ने गैरसकारी संस्थालाई लखेट्ने चेतावनी दिएका छन् । उनले गरिब, असहाय, बिपन्नको नाममा डलर ल्याएर करोडौँ कुम्लयाउने संस्थालाई लखेट्ने अवस्था आएको बताए ।

नेपाल ग्रामीण पुनर्निमाण संस्थाले बिहीबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ‘सरकारी निकायमा मात्र हैन्, गैरसरकारी क्षेत्रमा पनि सुशाषन भएन भने विकास सम्भव छैन ।’

 प्रदेश र देशको विकासमा गैरसरसकारी संस्थाको महत्वपूर्ण योगदान हुन सक्ने उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने, ‘गैरसरकारी संस्थाले इमन्दारीपूर्वक काम गरे विकास निर्माणदेखि समाजिक क्षेत्रमा सहयोग हुनेछ ।’ उनले तालिमभन्दा भौतिक पूर्वाधारमा काम गर्न गैरसरकारी संस्थालाई आग्रह गरे ।

कार्यक्रममा प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. हरिवंश झाले गैरसरकारी संस्थाको संख्या बढ्दै गए पनि देश र प्रदेशको विकासमा प्रगति नभएको दाबी गरे । ‘२०४६ सालमा करिब दुई सय गैरसरकारी संघसंस्था थिए,’ उनले भने, ‘अहिले ४० हजारभन्दा बढी छन्, प्रत्येक जिल्लामा दर्जनभन्दा बढी गैरसरकारी संस्था भए पनि प्रदेशको विकास भएन् ।’

Source: http://www.nayapatrikadaily.com (13 September 2018)