By Rakesh shah - 

वीरगञ्ज, ११ असोज
पर्सा जिल्लामा सञ्चालित सामुदायिक विकास कार्यक्रम कार्य अवधी समाप्त भएको छ । तीन वर्ष अघि काम शुरु गरेको कार्यक्रम मार्फत पर्सा जिल्लामा ८ करोड भन्दा बढी खर्च गरेको छ ।

कार्यक्रम मार्फत सुशासन, जिविकोपार्जन, पूर्वाधार निर्माण र विपद व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय कामहरु भएको पर्सा जिल्ला संयोजक शोभा महतोले जानकारी दिईन् । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा ग्रामिण पून निर्माण संस्थाले पर्सा जिल्लामा सामुदायिक विकास कार्यक्रम सञ्चालन गरेको थियो । जिल्ला समन्वय समिति पर्साको सभाहलमा आयोजना गरिएको कार्य अवधी समापन गोष्ठीमा कार्यक्रम मार्फत भएका कामहरुको बारेमा महतोले बताएकी थिईन् ।

सिडिपीले पर्सामा २ सय ६१ वटा नागरिक सचेतना केन्द्र प्रत्येकलाई १ लाख दिएर जिविकोपार्जनको काम गरेको, २ सय ६७ जनालाई बाईक रिपेयरिङ, च्याउ खेती, अगरबत्ती बनाउने लगायतको तालिम प्रदान गरेको, जिल्लामा ६ लाख बराबरको विपद व्यवस्थापनका सामाग्री हस्तान्तरण गर्नुको साथै ३ वटा स्कुल, २ वटा वर्थिङ सेन्टर, ११ वटा कल्भर्ट लगायत २० वटा पूर्वाधार निर्माण लगायतका काम गरेको छ ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महम्मद अन्सारी लगायतले सिडिपीले गरेको कामको प्रशंसा गर्नुको साथै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सोही अवसरमा सिडिपीले कार्यक्रम मार्फत भएका गतिविधि समेटिएको पुस्तिका जिल्ला समन्वय समिति पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकालाई हस्तान्तरण समेत गरिएको थियो ।

Source: https://www.aawajnews.com (September 27, 2018)