माघ १६, २०७५शंकर आचार्य
 
पर्सा — उमेर १८ वर्ष । उचाइ करिब ३ फिट । जन्मजात अपांगता । यहाँकी किशोरी मनिषा चौधरीको दुबै खुट्टा बांगो भएर उनलाई लामो समय हिँडडुल गर्न गार्‍हो हुन्छ ।

असामान्य शारीरिक बनोट र अपांगताका कारण गतवर्ष घरबाट डेढ किमि टाढा रहेको विद्यालय जान अप्ठेरो भएर उनले ७ कक्षासम्म पढेर विद्यालय जानै छोडिन् । विद्यालयमा सहपाठी र बाटोमा छरछिमेकले पनि होच्याउने गर्दा उनको मनोबल एकदमै खस्केको थियो । नयाँ मानिस अघि परे लाज मान्दै लुक्थिन् ।
 
एक वर्ष यताको उनको जीवन फेरिएको छ । उही मनिषामा अहिले आत्मविश्वास पलाएको छ । वीरगन्ज वडा नं ३१ भेडियाही टोलस्थित आफ्नै घरमा १ महिनायता उनले खाजा घर पनि चलाएकी छन् । उनले दैनिक १ हजारदेखि १ हजार ५ सयसम्मको चिया, खाजा बेच्छिन् । खाजा घरको परिकार आफैं बनाउँछिन् ।
 
तराईको लोकप्रिय खाजा पकौडा, मासु मात्र नभई चाउमिन र मोमो समेत बनाउन थालेकी छन् । चिया पनि मीठो पकाउँछिन् । टोलकै पहिलो खाजा घर भएकाले उनको खाजा घरमा ग्राहक टुट्दैनन् । लगानी कटाएर दैनिक ५ सयसम्म आम्दानी गर्न थालेकी छन् ।उनलाई आत्मनिर्भर बनाउने भूमिका खेल्यो उनको टोलमै सञ्चालित किशोरी संवाद कार्यक्रमले । समूहमा २५ जना स्थानीय किशोरी सहभागी भएर आआफ्ना अनुभव, भोगाइ, समस्या आदिबारे छलफल गर्न थालेपछि मनिषाले पनि आफूलाई आत्मनिर्भर बन्ने चाहना रहेको भनी आफ्नो मनको कुरा साथीकिशोरीलाई सुनाइन् ।
 
किशोरी संवाद कार्यक्रम सञ्चालन गरेका संस्था नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले १७ हजार बराबरको ग्यास चुलो, सिलिन्डर, खाजा पकाउने भाँडाकुँडा, प्लेट, गिलास, चम्चा आदि किनेर उनलाई सहयोग गर्‍यो । त्यसपछि मनिषा आफ्नो खुट्टामा आफैं उभिएकी छन् । अनि उनको खाजा घरको नाम जुर्‍यो ‘जय किशोरी संवाद खाजा घर ।’ आत्मविश्वासले उनी आत्मनिर्भर बनिन् । मनिषा पनि आफ्नो जीवन परिवर्तन भएकोमा खुसी छिन् । ‘मलाई पहिले अपांग भनेर उडाउनेहरूनै अहिले मेरो खाजा घरको नियमित ग्राहक बनेका छन्, मैले आत्मविश्वासले केही व्यवसाय गर्ने साहस गरेपछि यही समाजले अहिले हौसला दिइरहेको छ,’ उनले भनिन्, ‘म आफ्नो खाजा घरलाई अझै बिस्तार गर्न चाहन्छु ।’
 
बुवा अकलु राय थारू पनि छोरी आत्मनिर्भर भएपछि खुसी छन् । ‘अपांगतका कारण यसको आत्मविश्वास निक्कै कमजोर भएको थियो,’ उनले भने, ‘अहिले धक नमानी खाजा घर चलाएकी छ ।’ आमा राजमति पनि जेठी सन्तान घरमै बसेर आयआर्जन गर्न सक्षम भएपछि औधी खुसी छन् । ‘तीन सन्तानमध्ये जेठी सन्तान नै अपांग भएपछि मलाई यसको निक्कै चिन्ता थियो,’ उनले भनिन्, ‘अहिले दैनिक ५/६ सय कमाएको देख्दा मेरो खुसीकोसीमा छैन ।’
 
मनिषा सहभागी भएको संवाद समूह जानकी किशोरी संवाद समूहकी एनिमेटर तैरुन नेसाले सुरुमा आफूले मनिषालाई संवाद समूहमा सहभागी हुन निम्तो दिँदा उनी हच्किएको बताइन् । ‘मैले सुरुमा मनिषालाई संवाद समूहमा आएर आफ्ना मनका कुरा राख्न सुझाएकी थिएँ, उनी सुरुमा मानेकी थिइनन्, सबैले मेरो खिल्ली उडाउँछन् भन्थिन्,’ तैरुनले भनिन्, ‘अहिले खाजा घर चलाएर उही मनिषा आत्मनिर्भर बनेकी छन् ।’
 
चाइल्ड, नेपाल र संरक्षण नेपालको सहकार्यमा सन् २०१८ देखि वीरगन्ज महानगरका वडा नं २९, ३० र ३१ मा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले किशोरी संवाद कार्यक्रम सञ्चालन गरेको छ । ३ वडामा गरी विभिन्न किशोरी संवाद समूहमा ४ सय किशोरी आबद्ध छन् । संस्थाकी पर्सा बारा कार्यक्रम संयोजक भगवती शर्मा भण्डारीले १ वर्षको प्रयासपछि किशोरीहरूको सोंच र व्यवहारमा निक्कै परिवर्तन आएको बताइन् ।
 
संवादको माध्यमबाट बाल विवाह न्यूनीकरण गर्ने, विद्यालय जान छाडेका किशोरीहरूलाई पुन: विद्यालयसँग जोड्ने, घरेलु हिंसा न्यूनीकरण, दाइजो लगायत विभिन्न कुरीतिबिरुद्ध सचेत गर्ने र तीनै किशोरीमार्फत उनीहरूका अभिभावकहरूलाई पनि सचेत गर्ने प्रयास गरिँदै छ ।
‘संवादको माध्यमबाट पनि धेरै समस्या र कुरीतिहरूविरुद्ध संघर्ष गर्न र समस्याको समाधान गर्न सकिन्छ,’ उनले भनिन्, ‘किशोरी र उनीहरूका परिवारका सदस्यको सोंच र मानसिकता परिवर्तन गरी उनीहरूलाई स्थानीय सरकारले उपलब्ध गराउने सेवा सुविधाबारे जानकार बनाउनेदेखि आफ्नो हकअधिकार खोज्न सक्षम बनाउने हाम्रो प्रयास हो ।’
 
प्रकाशित : माघ १६, २०७५ १०:५९