प्रदेश २

फाल्गुन ६, २०७५ पवन यादव

(सिमरा) — जितपुर सिमरा उपमहानगरपालिका २४ हरपुर नहरटोलकी हिना खातुन १६ वर्ष पुगिन् । उनको अहिले विवाह गर्ने उमेर होइन ।गाउँमा बालविवाहको कुरीति कायमै रहेकाले उनीसँग विवाह गर्न ५ महिनाअघि अभिभावकले कुरा चलाउन थाले । ५ कक्षामा पढदै गरेकी हिनालाई अहिले नै विवाह गर्न मन थिएन ।

तर अभिभावकले चलाएको आफ्नो विवाह रोक्न आवाज उठाउन सक्ने क्षमता उनमा थिएन ।

उनी चाहेर पनि अभिभावकको कुरा काट्न सकेकी थिइनन् । उनलाई पढेलेखेर चित्रकार बन्ने चाहना छ । बिहे गरेर ससुरालमा पुगेपछि आफ्नो सपना सपनामै रहने चिन्ताले उनलाई विवाह नरोकुन्जेलसम्म सताइरह्यो । ‘भर्खर मदरसाबाट धार्मिक शिक्षा पूरा गरेर विद्यालयको पढाइ गर्न स्कुल भर्ना भएको छु,’ उनले भनिन्, ‘विवाह भएपछि पढाइ र सपना अधुरै हुन्थ्यो ।’

दाइजो, घरेलु हिंसाको सामना गर्नुपर्ने वातावरणको सृजना हुन्थ्यो । घरेलु हिंसा सहन नसकेर धेरैले आत्महत्या गरेको सुनिन्छ । यदि बिहे भएको भए आफू पनि आत्महत्या गर्ने अवस्थामा पुग्दिन भने भन्न सक्ने अवस्था छैन । त्यसैले आफ्नो विवाह रोक्न किशोरी समूहलाई गुहारेको उनले बताइन् ।

उनी मात्र होइन । उनकी छिमेकी साथी १६ वर्षीया सफिना खातुनका अभिभावकले पनि बिहेको कुरा चलाउन थालेका थिए । उनी गाउँकै विद्यालयमा कक्षा ८ मा अध्यनरत छिन् । यी दुई जना जस्तै गाउँका ४ किशोरीको बिहेको कुरा चल्न थाल्यो । आआफ्नो बिहेको कुरो अभिभावकले चलाउन थालेपछि ४ जनै किशोरी बिहे रोक्न योजनामा जुटे ।

‘बालविवाह गर्नु हुँदैन,’ सफिनाले भनिन्, ‘अभिभावकलाई कानुनी कारवाही हुन्छ ।’ तर अभिभावकविरुद्ध आवाज उठाउने आँट आफूहरूमा थिएन । कुरा चल्न थालेको बालविवाहको विषयलाई उनीहरू आवद्ध रहेको रुचि किशोरी संवाद समूहको छलफलमा पुर्‍याए । त्यहाँ उनीहरूको विवाहलाई तत्कालै कसरी रोक्ने चर्चाको विषय बन्यो । उनीहरूले बालविवाह रोक्ने एजेन्डालाई प्राथमिकतामा राखेर छलफल अघि बढाए ।

समूहले बालविवाह रोक्ने युक्ति पत्ता लगाउन नसकेपछि कुरोलाई संवाद समूह सहजकर्ता छिमेकी टोल निवासी पिंकी यादवकहाँ पुर्‍याइन् । ‘बालविवाह रोक्ने कानुनी व्यवस्था भए पनि आफूहरू सुरुमै त्यो प्रक्रिया अपनाउन चाहेनौं,’ सहजकर्ता पिंकीले भनिन्, ‘सामाजबाटै यसको समाधान खोज्नेतिर लाग्यौं ।’ म आफू पनि छिमेकी टोलको बुहारी भएकाले मैले मात्र गाउका पुरुषसँग बालविवाह रोक्न प्रतिवाद गर्न सक्ने अवस्थान थिएन ।

बालविवाहको समस्यालाई समाधान गर्न जिल्लाबाट आएका संवाद मोटिभेटर पूजा बर्मा र संवाद अधिकृत भीमकुमार राईको सहयोगमा अभिभावकलाई सम्झाउने प्रयास गरियो । अभिभावकले जिल्लाबाट आएका सर, म्याडमलाई धेरै आरोप लगाए । तर उहाँहरूको निरन्तर प्रयास र किशोरी समूहको एकताका कारण चारै जनाको बालविवाह छलफलकै माध्यमबाट रोक्न सफल भएको उनले जानकारी दिइन् ।

अहिले किशोरीहरूले आफू पनि बालविवाह नगर्ने र अरूको बालविवाह हुन नदिने अभियनै चलाएका छन् । मुस्लिम समुदाय बाहुल्य रहेको नहरटोलमा अहिले बालविवाह गर्ने अभिभावकमा कुराकानी चलेको जानकारी पाउने बित्तिकै किशोरीहरू एकजुट भएर बालविवाह आफैं रोक्न अग्रसर हुने गरेका छन् ।

उमेर नपुग्दै बालबालिकाको परम्परागत धार्मिक विधिअनुसार विवाह (निकाह) गरिदिने चलन तराई (मधेसका लागि नौलो विषय होइन । यहाँको यो पुरानो चलन नै हो । खासगरी बालिकाहरूका अभिभावकले ठूलो भएपछि चाहेअनुसारको वर (दुलहा) पाउन मुस्किल पर्ने चिन्ताले सानै उमेरमा बिहेगरी दिने चलन रहेको लामो समयदेखि किशोरी संवाद समूहसँग सक्रिय रहेकी पूजा वर्माले बताइन् ।

‘कतिपय अभिभावकले छोरी बेटीको उमेर बढेपछि धेरै दाइजो दिनुपर्छ भन्दै कम उमेरमा बिहे गरिदिने गरेका थिए,’ उनले भनिन्, ‘सानै उमेरमा बालबालिकाको बिहे गरिदिए पनि उनीहरूको शारीरिक विकास नभएका कारण भेट्न दिदैनथे ।’ विवाहपश्चात परम्पराअनुसार श्रीमान्/श्रीमती भए पनि गवना/दोंगा विधिले उनीहरूको मिलनमा अवरोधक बन्ने गथ्र्यो ।

१३/१४ वर्षको उमेरमा बिहे भए पनि १८/१९ पुगेपछि मात्र हिन्दु समुदायमा गवना/दोंगा, मुस्लिम समुदायमा गवना बाराती गर्ने चलन तराईमा रहेको उनले जानकारी दिइन् । संवाद मोटिभेटर वर्माका अनुसार कलिलो उमेरमा बिहेवारी भए पनि उमेर पुगेपछि गवना हुने गथ्र्यो । पछिलो समयमा विभिन्न गैरसरकारी संस्थाले बालविवाहका कारण समाजमा महिला हिंसा, घरेलु हिंसा, दाइजो विवाद लगायतका कारण महिलामाथि हुने शारीरिक तथा मानसिक यातनालाई निर्मुल पार्न बालविवाहविरुद्ध अभियान चलाउन थाले ।

सरकारले पनि बालविवाह र दाइजो प्रथा रोक्न कानुन बनाए पनि यसको कार्यान्वयन गाउँ घरमा हुन सकेको छैन । सरकारले ल्याएको बालविवाह विरुद्धको कानुनको सहारा लिँदै यहाँका किशोरीहरू बालविाह रोक्न अहिले कम्मर कसेका छन् । ‘हामी पनि बालविवाह गर्दैनौं, अरूलाई पनि बालविवाह गर्न दिदैनौं’ भन्दै उनीहरू बालविवाहविरुद्ध अभियान सञ्चालन गरेको उनले जानकारी दिइन् । टोलमा गठन गरिएको २ वटा किशोरी संवाद समूहमा ४९ जना किशोरीहरू आवद्ध छन् ।

नहर टोलमा एक सय ८० घरपरिवारको बसोवास छ । यहाँका सबै परिवार मुस्लिम समुदायका छन् । यो टोलमा अन्य कुनै जाति नरहेको संवाद अधिकृत भीमकुमार राईले जानकारी दिए । ‘मुस्लिम समुदायमा बालविवाह रोक्न एकदम चुनौती थियो,’ उनले भने, ‘निरन्तरको प्रयास र महिला, किशोरीको साथले बालविवाह रोक्न सफल भएका छौं ।’ पहिलाको तुलनामा अहिले यो टोलमा बालविवाह कम भएको उनले आफ्नो अनुभव सुनाए ।

बालविवाह रोक्न सामाजिक अभियन्ताहरू पनि अहिले सक्रिय भएकाले आफूहरूलाई यसविरुद्ध अभियान चलाउन सजिलो भएको उनले जानकारी दिए । समूहमा आवद्ध धेरै किशोरीहरू बालविवाहविरुद्ध आवाज उठाउन अहिले सक्षम भएको उनले उनले जानकारी दिए । विवाहका लागि केटीको उमेर २० वर्ष र केटाको उमेर २१ वर्ष पुगेकै हुनुपर्ने नियम ल्याएको जानकारी समूहमा आवद्ध सबै किशोरीलाई छ । त्यसलाई उनीहरूले आधार बनाएर अभिभावकको प्रतिवाद गर्ने गरेको उनले जानकारी दिए ।

बालविवाहकै कारण तराई/मधेसमा अहिले महिला हिंसा, घरेलु हिंसा, आत्महत्या, ससुराल पक्षबाट दाइजोको निहुँमा बुहारीको हत्या हुने क्रम बढेको सरोकारवालाले बताएका छन् ।
उमेर नपुग्दै विवाह गरेकाहरूको विवाह दर्ता, नागरिकता सिफारिस समेत रोकिएको कलैया उपमहानगरपालिका वडा नं. १६ का सचिव नरोत्तम अधिकारीले बताए । यो कारणले पनि विस्तारै बालविवाह कम हँुदै गएको आफ्नो अनुभव सुनाए ।

प्रकाशित : फाल्गुन ६, २०७५ १०:५९

Source: https://www.kantipurdaily.com (2019/02/18)