चितवन पोष्ट

माडी । गत साउन १० गतेको बाढीबाट क्षति पुगेको बाँदरमुढे खोला आसपासमा थप क्षति नहोस् भन्नका लागि धमाधम तटबन्धन काम भइरहेको छ । नदी व्यवस्थापन गरी क्षति न्यूनीकरण गर्न सकिने भन्दै माडी नगरपालिका, समुदाय र ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) को सहयोगमा तटबन्धनको काम भइरहेको हो ।

यस खोलाको करिब ३८८ मिटर क्षेत्रमा तटबन्धनको काम भइरहेको आरआरएन नेपालका प्रोजेक्ट कोअर्डिनेटर रविन्द्र सिंहले बताए । कुल ३ लाख रुपैयाँ लागतमा काम भइरहेको छ । साउन १० गतेको बाढीबाट बाँदरमुढे खोला आसपासका ५० बिघा धान खेत नष्ट हुनुका साथै घर, बाटो, स्कुल डुबानमा परेको थियो ।

माडी बाढीको उच्च जाखिमयुक्त ठाउँ हुँदा पनि उचित व्यवस्थापन हुन नसकेको सिंहले बताए । विसं. २०२८ सालदेखि हालसम्मको अनौपचारिक तथ्याङ्कअनुसार करिब एक हजार मानिसको मृत्यु, अर्बाैको क्षति भएको उनले बताए । त्यस्तै सयौं घरपरिवार विस्थापित भएका छन् । माडीमा नदी व्यवस्थापन गुरुयोजना बन्न पहल नहुनु झन् दुःखको विषय रहेको उनले बताए ।

Source: http://echitwanpost.com (सोमवार, साउन ३१, २०७३ August 15, 2016)