न्यूजलय  सोमबार १२, चैत २०७४
 
बराहक्षेत्र । अगाडि फूलबारी, पानीको फोहराको दृश्य भएको सुन्दर भवन के को  हुन्छ होला ? त्यहीं माथि रिसेप्सन, ट्रेनिङ सेन्टर जस्ता सुबिधा भएको १० कोठे भवन कुनै सानोतिनो कार्यालयको त पक्कै हुन्न होला ? हामी सहजै अनुमान गर्छौं यो कुनै ठूलो सरकारी अड्डा, कुनै स्टार होटला वा कुनै अन्तर्राष्ट्रिय संस्थाको कार्यालय हुनसक्छ ।
 
तर यहाँ तपाईं हाम्रो अनुमान गलत हुनजान्छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन, माथि हामीले वर्णन गरे झैं बन्ने भएको छ । कतिपय स्थानीय तहले पुरानो भवन तथा भाडाको घरबाट समेत काम चलाइरहनु परेको अवस्थामा बराहक्षेत्र नगरपालिकामा भने अत्याधुनिक सुविधा सम्पन्न वडा कार्यालय भवन बन्न लागेको छ ।

ग्रामिण पुनरनिर्माण संस्था (आरआरएन) को सहयोगमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन यतिका सुबिधा सम्पन्न बन्ने भएको हो । सोमबार नगरपालिकाका मेयर निलम खनालले भवनको शिलान्यास गरेका छन् । मेयर खनालले द्रुत गतीमा निर्माण सम्पन्न गरि वडा कार्यालयलाई छिटो भन्दा छिटो हस्तान्तरण गरिने बताए । भवन ६ महिना भित्र निर्माण सम्पन्न गरि प्रयोगमा ल्याउने उनको भनाइ छ ।
 
आरआरएनकी सुनसरी प्रमुख सरस्वती कोइरालाका अनुसार करिव १ करोड ५० लाखको लागतमा अढाइ तले १० कोठे भवन निर्माण हुन लागेको हो । यो भवन सरकारी मापदण्ड अनुसार बन्न लागको देशकै पहिलो वडा कार्यालय भवन हुने उनको भनाइ छ । तत्कालिन स्थानीय विकाश मन्त्रालयले देश भर एउटै प्रकृतिको वडा कार्यालय बनाउने निर्णय गरेकोमा त्यही अनुरुपको भवन बनाउन लागिएको उनी बताउँछिन् । भवनमा रिसेप्सन, मिटिङ हल, सचिव र वडा सदस्यहरुको अलग्गै कोठा तथा ट्रेनिङ हल र अतिथि कक्ष समेत रहने छ ।

स्थानीय ढोलबजिया क्षेत्रको आसपासमा स्थानीयबासीले निःशुल्क प्रदान गरेको करिब ७ कठ्ठा जग्गामा वडा कार्यालय भवन निर्माण गर्न लागिएको वडाध्यक्ष दीपककुमार लिम्बूले जानकारी दिए । स्थानीय केन्द्रप्रसाद राई, केशब राई, सुनसरी राई, सिंह राई र तिलक केदेम लिम्बूले गरि ७ कठ्ठा जग्गा भवन निर्माणका लागि दान दिएका हुन् ।
 
Source: www.newslaya.com (१२, चैत २०७४)