राजन रावत/हुम्ला

नव निर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । स्थानीय सीप र श्रोतलाई प्रयोग गरेर भवन सिमकोट गाउँपालिका वडा नम्बर ४ को बालविकास प्रावि हिल्दुमको लागि निर्माण भएर हस्तान्तरण भएको हो ।

भवन निर्माण भएसँगै भूकम्प प्रतिरोधी भवनमा कक्षा सञ्चालन गर्न पाउँदा भूकम्पबाट सुरक्षित भएको महशुस भएको विद्यालयका प्रधानाध्यापक जयदेवी शाहीले बताइन् ।

हाल कक्षा सञ्चालन भइ रहेका भवनहरु भूकम्प आउँदा डराई डराई अध्यापन गर्नु पर्ने अवस्था भएको र अब भने नयाँ भवनको निर्माण सँगै कक्षा सञ्चालन हुँदा उक्त डरवाट सुरक्षित भएको उनले बताइन् ।

नयाँ भवनमा दुईवटा कक्षा सञ्चालन भइ रहेको प्रअ शाहीले बताइन् । जिल्ला भरिको नमूना भवनका रुपमा निर्माण भएको स्थानीय वासीले बताएका छन ।
विद्यालयमा सवै शिक्षक महिला मात्र भएको बालविकास प्राविको नयाँ भवन बनेपछि विद्यार्थी र अभिभावक निकै खुसी देखिएका छन् । कक्षा पाँचसम्म अंग्रेजी माध्यमबाट पठन–पाठन हुने बालविकास प्राविको भवनलाई २०७२ सालको भूकम्पले चर्काएको थियो ।
स्थानीय उपभोक्ता समितिले निर्माण गरेर निर्धारित समयमा काम सम्पन्न गरेको भवनका लागि आर्थिक सहयोग गर्ने सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक राज वहादुर रोकायाले बताए ।

दुईवटा कोठा र दुई कोठे शौचालय निर्माण गर्न समुदायको जनश्रमदान सहित २८ लाख ९८ हजार एक सय ६० रुपियाँमा भवनको निर्माण भएको उनले बताए ।

भवनलाई सिमेन्ट प्लष्टर गरिएको छ । नयाँ भवन बनेर बिद्यालयलाई हस्तान्तरण भए सँगै विद्यालयको पठन–पाठनमा सहजता आउने विश्वास कार्यक्रम लिएको छ । यो सहित कार्यक्रमले जिल्ला भरि १४ वटा विद्यालय भवन निर्माण गरेको जनाएको छ ।

Source: http://www.educationpati.com (13 August 2018)